काठमाडौँ । प्रहरीले संखुवासभाको मादी नागरपालिका वडा नं.–१ उम्लिङस्थित खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई आज सार्वजनिक गरेको छ । नातामा भतिजा पर्ने छिमेकी लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरीले लोकबहादुरलाई शनिबार पक्राउ गरेको थियो।
हत्या गरिएका तेजबहादुरको नातामा भतिजा पर्ने २६ बर्षिया लोकबहादुरले सबैको हत्या आफू एक्लैले गरेको स्वीकारेकाछन्। अभियुक्त लोकबहादुरले आफूलाई तेजबहादुरले घृणा गरेका कारण भदौ २१ गते बिहान ५ देखि ६ बजेको बीचमा उनको हत्या गरेको र उनको हत्या गर्दा प्रतिवाद गर्न खोज्ने हजुरआमा, ठूलीआमा, भाउजु र भतिजाहरुको पनि हत्या गरेको प्रहरीलाई जनाएकाछन्।
लोकबहादुरले ८४ वर्षकी हजुरआमा पार्बता, ५८ वर्षे ठूलाबुवा तेजबहादुर, ५२ बर्षे ठूलीआमा कमला, ३२ वर्षे भाउजु रञ्जना, ११ बर्षे भतिजो दिपेन र सात बर्षिया भतिजी गोमा कार्कीको हत्या गरेको प्रहरीसँगको बयानमा बताएका छन् ।
Add Comment