स्पोर्ट-मनोरञ्जन

विवेक अग्निहोत्रीद्वारा निर्मीत द कश्मीर फाइल्स चलचित्रले रच्यो किर्तिमान

बालिउड, दिल्ली । हालै रिलिज भएको फिल्म ‘द कश्मीर फाइल्स’ यतिबेला भारतमा चर्चामा छ । रिलिजसँगै फिल्मले धेरै कीर्तिमान बनाएको देखिन्छ । कश्मीर फाइल थिएटरहरूमा दस्तक हुनु अघि नै धेरै विवादहरूले घेरिएको र लामो समयदेखि मानिसहरूमाझ चर्चाको विषय बनेको थियो । यद्यपि फिल्मले रिलिज यता दैनिक रुपमा सोचे भन्दा राम्रो व्यापार गरिरहेको छ । यसै क्रममा चलचित्रले आइतबार पनि आफ्नो बक्स कलेक्सनमा नयाँ किर्तिमान हासिल गरेको छ ।

आइतबारको फिल्मको बक्स अफिस कलेक्सन हेर्दा विवेक रञ्जन अग्निहोत्रीको यो फिल्मले छुट्टीको पूरा फाइदा पाएको भन्न सकिन्छ । फिल्मले आइतबार करिब १४ करोड कमाएको छ, जुन आफैमा कीर्तिमान हो । आइतबार कमाई गरेपछि ‘द कश्मीर फाइल्स’ कोरोना अवधिको पहिलो ब्लकबस्टर फिल्म बनेको छ ।

१४ करोडको लागतमा बनेको फिल्मले पहिलो दिन अर्थात शुक्रबार ३.२५ करोड कमाएको छ । त्यस्तै शनिबार आफ्नो कमाई शतप्रतिशत बढाउँदै ८.२५ करोड कमाएको छ । यसपछि आइतबार सबै रेकर्ड तोड्दै ‘द कश्मीर फाइल्स’ले सबै विवाद र आलोचनाका बाबजुद आफ्नो झोलामा १४ करोड रुपैयाँ जम्मा गरेको छ ।

साउथ सुपरस्टार प्रभासको फिल्म ‘राधेश्याम’सँगै रिलिज भएको यो फिल्म देशका सिमित स्क्रिनमा रिलिज भएको थियो । फिल्मले सुरुमा ६५० स्क्रिन मात्र पाएको थियो । तर यसको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै अहिले स्क्रिन संख्या २००० पुगेको छ । फिल्मको कमाई र स्क्रिन संख्यामा भएको बृद्धिले यो फिल्मको सफलता बताउन पर्याप्त छ । तिव्र गतिमा रहेको फिल्मको कलेक्शन हेर्दा ‘द कश्मीर फाइल्स’लाई दर्शकले निकै रुचाएका छन् ।

फिल्मको कुरा गर्ने हो भने विवेक अग्निहोत्रीले निर्देशन गरेको यस फिल्ममा मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशी जस्ता धेरै ठूला कलाकारको अभिनय रहेको छ । फिल्मले कश्मीरी पण्डितहरु माथि हुने अत्याचारको कथालाई चित्रण गरेको छ । यस बाहेक विवेक अग्निहोत्री र सौरभ पाण्डेले मिलेर लेखेको फिल्ममा पनि धारा ३७० देखि कश्मीरको इतिहासको चर्चा गरिएको छ ।