समाचार

रोड म्याप बिनाको पाँच दलका शीर्ष नेताको हस्ताक्षरमा तालमेलको घोषणा मात्रै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकमा पाँच दलीय गठबन्धनको बैठकले सहकार्य र सहयोगको भावनाअनुसार नै स्थानीय तह निर्वाचनमा जाने निर्णय गरेको छ साथै हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरिएको छ ।

बैठकपछि पाँच दलले संयुक्त विज्ञप्ती जारी गर्दै लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरूको कठिनाई हटाउदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका हुन् ।

विज्ञप्तीमा– ‘पाँच दलीय गठबन्धनको अपिल अनेकौं शहीदहरुको वलिदान र अनगिन्ती सपूतहरुको त्याग, तपस्या, समर्पण र नेपाली जनताको वर्षों देखिको अथक संघर्षले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र सहितको नयाँ परिवर्तन आएको छ । नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ। समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको भनिएको छ ।’

विज्ञप्तीमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको छ ।