काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्दा उम्मेदवार र राजनीतिक दलहरूले पालना गर्नुपर्ने विषयमा आयोगको निर्देशन सार्वजनीक गरेको छ । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्धारण भएको निर्वाचन कार्यक्रम अनुसार चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा यही चैत १८ गते सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भोली २० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।
निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ ले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि राजनीतिक दल, राजनीतिक दलका प्रतिनिधि र राजनीतिक दलका उम्मेदवारहरूले पालना गर्नु पर्ने आवश्यक विषयहरूका सम्बन्धमा कानूनी व्यवस्था रहेको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ मा आयोगले संविधान र प्रचलित कानूनको अधीनमा रही दलले गर्ने काम कारवाही सञ्चालन गर्दा पालना गर्नु पर्ने विषयका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ र सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको निर्देशन पालना गर्नु प्रत्येक दलको कर्तव्य हुनेछ भन्ने कानूनी व्यवस्था रहेको छ । उपनिर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन उम्मेदवारको मनोनयनको समयमा उम्मेदवार र राजनीतिक दलले देहाय बमोजिमका कामकारवाही नगर्न नगराउन राजनीतिक दल र उम्मेदवारहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्वाचन आयोगले निर्देशन दिने निर्णय गरेको छ :
१. निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित बढीमा पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने ।
२. उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने ।
३. उम्मेदवारको मनोनयको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने ।
४. उम्मेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा÷जुलुस, भाषण र प्रतिष्पर्धी लक्षित गालिगलौज र टिकाटिप्पणी नगर्ने नगराउने ।
५. उम्मेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पति प्रयोग गर्न नहुने ।
६. नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने ।
७. उम्मेदवारको मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न गराउन नहुने ।
८. मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारी साधन वा अन्य सामाग्री प्रयोग गर्न दिन नहुने ।
९. हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुने ।
१०. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी हुन नहुने ।
Add Comment