स्पोर्ट-मनोरञ्जन

भारतमा हुने एकदिवसीय विश्वकपको तालिका सार्वजनिक फाइनल सहित ४८ खेल १० स्थानमा खेल हुने

नई दिल्ली । आईसीसीले एकदिवसीय विश्वकप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुनेछ । पहिलो खेल इंग्ल्याण्ड र न्युजिल्यान्डबीच हुनेछ । यी दुई टोली सन् २०१९ को विश्वकपको फाइनलमा आमनेसामने भएका थिए । यी दुवै टोलीले प्रतियोगिताको पहिलो खेल अक्टोबर ५ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेल्नेछन् । त्यस्तै, भारतको पहिलो खेल अक्टोबर ८ मा चेन्नईको मैदानमा अस्ट्रेलियासँग हुनेछ । मस्यौदा तालिकामा कुनै ठूलो परिवर्तन भएको छैन र भारतले अक्टोबर १५ मा पाकिस्तानसँग अहमदाबादको मैदानमा खेल्नेछ ।

यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यस प्रतियोगिताको लागि छनोट भइसकेका छन् र बाँकी दुई स्थान जिम्बाब्वेमा क्वालिफायर राउन्डमा खेलिदै छ, जसमा छ टोली सुपर सिक्समा पुगेका छन् । यीमध्ये दुई टोली भारतमा हुने विश्वकपको मुख्य राउण्डमा सहभागी हुनेछन् । पहिलो दुई विश्वकप जितेको वेस्ट इन्डिजको टोली अहिले यो विश्वकपबाट बाहिरिने संघारमा छ । श्रीलंका र जिम्बाब्वेले मुख्य राउण्डमा खेल्ने सम्भावना बढी छ । विश्वका बाँकी दुई टोलीको नाम पनि जुलाई ९ मा तय हुनेछ ।

यस विश्वकपमा सबै टोलीले अन्य नौ टोलीसँग राउण्ड रोबिन फर्म्याटमा खेल्नेछन् । जसमध्ये अंक तालिकाको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् र विजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणको अन्तिम खेल नोभेम्बर १२ मा हुनेछ । यसपछि सेमिफाइनल खेल १५ नोभेम्बरमा मुम्बई र १६ नोभेम्बरमा कोलकातामा हुनेछ । फाइनल खेल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ । सेमिफाइनलका दुवै खेलका लागि रिजर्भ डे राखिएको छ । साथै, नोभेम्बर २० लाई फाइनल खेलको लागि रिजर्भ डेको रूपमा रहनेछ । नकआउटका सबै खेलहरू दिन–रातका हुनेछन् र स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछन् ।

हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बैंगलोर, मुम्बई र कोलकाता गरी कुल १० वटा मैदानमा खेल हुनेछन् । हैदराबाद बाहेक गुवाहाटी र तिरुवनन्तपुरमले सेप्टेम्बर २९ देखि अक्टोबर ३ सम्म अभ्यास खेल आयोजना गर्नेछन् ।