अन्तराष्ट्रिय

आत्मघाती आक्रमणमा २३ बालबालिकासहित ५४ जनाको मृत्यु आईएसआईएसले लियो जिम्मेवारी 

इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बाजौरमा एक राजनीतिक ¥यालीमा भएको आत्मघाती आक्रमणमा परी २३ बालबालिकासहित ६० जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार आतंकवादी संगठन आईएसआईएसले यस आत्मघाती बम विस्फोटको जिम्मेवारी लिएको छ । यसअघि प्रहरीले उक्त आत्मघाती हमलाको पछाडि डरलाग्दो आतंककारी संगठन आईएसआईएसको हात रहेको प्रारम्भिक अनुसन्धानले देखाएको थियो । आइतबार खार सहरमा सत्तारुढ गठबन्धन साझेदार जमियत उलेमा इस्लाम फजलको ¥यालीमा आत्मघाती हमला भएको थियो ।

पाकिस्तानी पुलिस अधिकारीहरूले भने अनुसार हामी अझै पनि बाजौर विस्फोट घटनाको बारेमा अनुसन्धान र जानकारी सङ्कलन गरिरहेका छौं । प्रारम्भिक अनुसन्धानमा प्रतिबन्धित संगठन आइएस (आइएस) को संलग्नता रहेको खुलेको छ । प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । बम डिस्पोजल टोली पनि घटनास्थलमा प्रमाण संकलनमा जुटेको छ । खैबर पख्तुनख्वाका प्रहरी प्रमुख अख्तर हयात खानले विस्फोटमा १० किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरिएको बताए । आत्मघाती आक्रमणकारी भीडको अगाडि र मञ्च नजिक रहेको प्रहरीले जनाएको छ ।

बाजौर क्षेत्र पाकिस्तान–अफगानिस्तान सीमामा अवस्थित छ र तालिवानको प्रभावको क्षेत्र मानिन्छ । यही कारणले तालिवानको प्रभाव रहेको क्षेत्रमा यति ठूलो हमलाको चर्चा चलिरहेको छ । जुलुस निकालेको पार्टी जमियत उलेमा इस्लाम फजललाई पनि कट्टरपन्थी इस्लामिक संगठनको समर्थक मानिन्छ । तेहरिक–ए–तालिबान पाकिस्तानले पनि बाजौरमा भएको विष्फोटबारे एक विज्ञप्ति जारी गरेको छ । यस विज्ञप्तिमा टीटीपीले इस्लामिक संगठनहरूलाई एकअर्का विरुद्ध खडा गर्न यो हमला गरिएको जनाएको छ । आईएसआईएस अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन कोशिस गरिरहेको छ भनेर व्याख्या गरिएको छ ।

हमलामा जमियत उलेमा इस्लाम फजलका धेरै नेताहरुको मृत्यु भएको छ । आक्रमणकारीले मञ्च नजिकै आफूलाई विस्फोट गराएको थियो । जसका कारण यस हमलामा पार्टीका तहसिल खार प्रमुख मौलाना जियाउल्लाह जान, नवागाई तहसील महासचिव मौलाना हमिदुल्लाह, जिल्ला सूचना सचिव मुजाहिद खान र धेरै पार्टी कार्यकर्ताको मृत्यु भएको थियो । आक्रमणमा परी घाइते भएका १५ जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरुलाई पाकिस्तानी सेनाको हेलिकोप्टरबाट पेशावरको अस्पतालमा लगिएको छ । घाइतेको अवस्था हेर्दा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।