स्पोर्ट-मनोरञ्जन

पर्थ टेस्ट : पाकिस्तानी ब्याट्सम्यानको कङ्गारु बलरसामु आत्मसमर्पण

नयाँ दिल्ली । पर्थ टेस्टको तेस्रो दिन अस्ट्रेलियाका बलरको नाममा रह्यो । पाकिस्तानको टोली पहिलो इनिङ्समा २७१ रन बनाएर अलआउट भएको थियो । नाथन लियोन, स्टार्क र कमिन्सले मिलेर पाहुना टोलीका सात ब्याट्सम्यानलाई प्याभिलियनको बाटो देखाए । पाकिस्तानका ब्याट्सम्यानहरुको प्रदर्शन निकै निराशाजनक रह्यो र टोलीले १४८ रन जोडेर अन्तिम ८ विकेट गुमाएको थियो ।

तेस्रो दिनको सुरुवात पाकिस्तानका लागि राम्रो भएन र खुर्रम शहजाद ७ रनको स्कोरमा प्याट कमिन्सले क्लिन बोल्ड भएका थिए । त्यसपछि बाबर आजमले इमाम उल हकसँग ४८ रनको साझेदारी गरे । तर, बाबरले राम्रो सुरुवातको फाइदा उठाउन सकेनन् र २१ रन बनाएर मिचेल मार्सको शिकार बने ।

साउद शकील २८ रनमा हेजलउडले आउट भए भने सर्फराजलाई मात्र ३ रन बनाएर स्टार्कले प्याभिलियनको बाटो देखाएका थिए । इमाम उल हकले ६२ रनको बलियो इनिङ खेलेका थिए र नाथन लियोनको बलिङमा ठूलो सट प्रहार गर्ने क्रममा स्टम्प भएका थिए । पहिलो इनिङ्समा पाकिस्तानको पुरै टोली २७१ रनमै सिमित भयो । लायनले आफ्नो नाममा सर्वाधिक ३ विकेट लिए भने स्टार्क र कमिन्सले २–२ विकेट लिए ।

अष्ट्रेलियाको टोलीले पहिलो इनिङ्सको आधारमा २१६ रनको ठूलो अग्रता लिएको थियो । दोस्रो इनिङ्समा कंगारु टोलीले दिनको खेल सकिँदासम्म २ विकेट गुमाएर ८४ रन जोडेको छ । पहिलो इनिङ्समा शतक प्रहार गरेका डेभिड वार्नर दोस्रो इनिङ्समा खाता नखोली नै प्याभिलियन फर्किएका थिए । सोही क्रममा मार्नस लाबुस्चेन मात्र २ रन बनाएर आउट भए । उस्मान ख्वाजा ३४ र स्टिभ स्मिथ ४३ रनमा ब्याटिङ गरिरहेका छन् । अष्ट्रेलियाको कुल अग्रता ३ सय रन पुगेको छ ।