समाचार

युवा शक्तिलाई स्वदेशमा रोकेर राष्ट्र निर्माणमा लगाउने कार्यक्रमको खाँचो : राष्ट्रपति

काठमाडौँ, साउन २९ । राष्ट्रपति रामचन्द्र पौडेलले, मुलुकको सम्भावना पहिचान गरेर त्यसको प्राप्तिका लागि युवाहरुमा राष्ट्रिय भावना जागृत गराउने कार्यक्रमको खाँचो देखाए । अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा पारेर युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र संयुक्त राष्ट्र संघको आयोजनामा सोमबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो धारणा राखेको हो ।

‘दिनानुदिन विदेश पलायन हुने युवा शक्तिलाई स्वदेशमा रोकेर राष्ट्र निर्माणमा लगाउने कार्यक्रमको खाँचो छ ।’ कार्यक्रममा उनले जोड दिए ।
कार्यक्रमको मुख्य वक्ताका रुपमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विकासोन्मुख देशमा मानिसहरु श्रम शक्तिभन्दा वाहिर रहन नसक्ने बताउँदै नेपालमा श्रमशक्तिको सहभागिता ७७ प्रतिशत रहेको उल्लेख गरिन । ‘वैदेशिक रोजगारीबाट प्राप्त भएको रकमको उपयोगिताका कोणबाट अवस्था निराशाजनक छ । २८ प्रतिशतभन्दा धेरै विप्रेषण घरजग्गामा लगानी हुनु यसको उदाहरण हो ।’ उनले युवाहरुको क्षेत्रगत सहभागिताका विषयमा कुरा गर्दै भनिन, ‘विभिन्न निर्वाचनमा २१ वर्षदेखि ४० वर्ष उमेर समूहका युवा निर्वाचित हुन राजनीतिक सहभागिताका कोणबाट महत्वपूर्ण पक्ष हो ।’

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय समृद्धिमा युवाहरुको सहभागिता सुनिश्चित गर्ने कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताए । यस्तै संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हना सिङ्गर हमडीले साझेदार बिचको सहकार्यबाट दिगो विकास लक्ष्यमा युवा सहभागिता गराउन सकिने धारणा राखे । नेपालले संवैधानिक प्रावधान, राष्ट्रिय युवा नीति र दृष्टिकोण २०२५ मार्फत राष्ट्रको परिवर्तनको संवाहक मानेको छ । आउँदो सेप्टेम्बर महिनामा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र संघले ‘समिट अफ द फ्युचर’ आयोजना गर्दैछ ।

अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) ले पछिल्लो ४ वर्षमा युवाहरुका लागि श्रम बजार सुधार भएको तथ्याङ्क उल्लेख गरेको छ । सोमबार ‘युवाका लागि विश्वव्यापी रोजगारीको अवस्था’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै कोविड महामारीका कारण खुम्चिएको बजारमा सुधार आएको जनाएको हो ।