स्पोर्ट-मनोरञ्जन

पारालिम्पिक कास्य पदक विजेता पलेशालाई महानगरपालिकाबाट ५ लाख रुपैयाँ नगदसहित सम्मान

काठमाडौँ, भाद्र १९ । काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ । आज काठमाडौँ प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेको हो । त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै पलेसाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा धारणा राख्दै प्रमुख शाहले भने ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ । सीमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ ।’ पलेशाका मातापिताको योगदानमा कुरा गर्दै उनले, खेलमा लाग्नेले पढ्दैनन् भन्ने अभिभावकको सोच परिवर्तन हुनु पर्छ भन्ने सन्देश दिएको उल्लेख गरे ।

त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले, पलेशाले आगामी खेलमा भाग लिएको हेर्ने अवसरको अपेक्षा गरिन । छोरीको सफलताका लागि अभिभावकको अहम् भूमिका हुने बताउँदै उनले, पलेशाका बुबाआमा, सन्तानको सफलताका लागि अभिभावकको भूमिकाका लागि उदाहरण भएको उल्लेख गरिन । डंगोलले जितमा प्रशिक्षकको भूमिका उल्लेखनीय हुने बताउँदै खेलाडीसँगै प्रशिक्षकहरुलाई प्रोत्साहित गर्नु पर्ने बताईन ।

त्यस क्रममा पलेशाले खेल अनुभव सुनाउँदै भने मैले प्राप्त गरेको पदक देशकै लागि गौरव हो । यस अघि जापानमा भएको खेलमा दिन नसकेको पदक यसपटक दिलाउन सकेँ । सम्मान कार्यक्रममा प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी., तेक्वान्दो एशोसिएसनका अध्यक्ष प्रकाश शम्शेर राणा, ओलम्पियन संगीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदिप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी रहेका थिए ।

पलेशाले गएको शुक्रबार पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गरेको हो । पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गरेकि हुन ।
रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनल खेल सुरक्षित गर्नुभएको थियो । पेरिस पारालिम्पिकमा नेपालबाट ३ जना खेलाडीको सहभागिता थियो । कार्यक्रममा सहभागी खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।