समाचार

महासंघका जिल्ला एवं प्रदेश सभापतिहरुको राष्ट्रिय भेला बोलाएर समस्याहरुको निराकरण गर्न माग

काठमाडौ, असोज २ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि गठीत केन्द्रीय निर्वाचन समितिले प्रकाशन गरको सदस्यता नामावलीमा गम्भिर त्रुटी भएको भन्दै गम्भिर आपत्ति जनाउदै केन्द्रीय समितिलाई ५३ शाखाका सभापतिहरुको संयुक्त हस्ताक्षर भएको ज्ञापनपत्र आज भक्तपुर शाखा सभापति जगत प्रजापतिले कार्यवाहक सभापति रमेश विष्टलाई बुझाएको छ ।

नेपाल पत्रकार महासंघको विधान अनुसार सदस्य नविकरण र नया सदस्ता दिने विषयमा शाखाको सिफारीसमा प्रदेशले अनुमोदन गर्नु पर्ने महासंघको विधानमा व्यवस्था छ । तर, विधानमा भएको व्यवस्था विपरित र निर्वाचनका लागि गठीत भएको निर्वाचन समितिले नामावली प्रंकाशन, नामावलीमा दावी उजुरी लिईसकेको अवस्थामा महासचिव रोशन पुरी र राजीनामा दिईसकेका सभापति विपुर पोखरेलको हस्ताक्षरमा अर्को नामावली प्रकाशित हुनु निर्वाचन निर्देशिका र कार्यविधि विपरित मात्र होईन निर्वाचनको सामान्य सिद्धान्त, मुल्य मान्यत र विधिपद्धति विपरित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

नेपाल पत्रकार महासंघका जिल्ला एवं प्रदेश सभापतिहरुको राष्ट्रिय भेला बोलाएर महासंघमा उत्पन्न भएका समस्याहरुको निराकरण गर्न सकिने सल्लाह सुझाव सहित केन्द्रीय समितिलाई ज्ञापनपत्रमा हार्दिक आग्रह समेत गरेको छ ।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक सभापति विष्टले मागलाई सकारात्मक लिएको बताउँदै केन्द्रीय समितिको बैठक राखेर छलफल गर्ने बताए । ’जिल्लाले निर्वाचन नगराए केन्द्रले गएर निर्वाचन गराउँछ त ?’ उनले भने, ’यो विषयमा हामी गम्भीर छौं ।’ उनले महासंघलाई जिवन्त राख्न कसैलाई पनि आफ्नो अडानमा रहन नहुने भन्दै उनले अलिकति तलमाथि भए सबैले मानेर अघि बढ्नुपर्ने बताए ।