जेन जीको आन्दोलन सकारात्मक दृष्टिकोण, परिवर्तनको चाहना र सन्देशका साथै सत्ताको दम्भविरुद्धको जनआवाज थियो तर पछिल्ला घटनाक्रमले देखाएको छ कि जेन जी आन्दोलनको शान्तिपूर्ण सुरुवात क्रमशः अराजकतातर्फ गयो । यसमा पुराना दल वा अन्य स्वार्थी समूहहरूको घुसपैठ सम्भव देखिन्छ । आन्दोलनका क्रममा भएका आगजनी, सार्वजनिक सम्पत्तिमा क्षति, र हिंसात्मक गतिविधिहरू सामान्य नागरिक वा विद्यार्थी आन्दोलनको स्वाभाविक कार्यशैली होइन ।
जेन जीहरुले राज्य संरचना, अधिकार वितरण, र भ्रष्टाचार नियन्त्रणका विषय उठाए पनि संविधानमै गहिरो संशोधन आवश्यक छ भन्ने कुरा स्पष्ट रूपमा उठाएका छैनन् । यसले आन्दोलनको दीर्घकालीन उद्देश्य वा दुरदृष्टिको अभाव देखाएको छ ।
संविधानअनुसार सार्वजनिक सम्पत्तिमा क्षति अपराध होः
नेपालको संविधान तथा प्रचलित कानुनअनुसार सरकारी वा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनु आपराधिक कार्य हो । संविधानको धारा ५१ (ख) (९) मा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने स्पष्ट व्यवस्था गरिएको छ । प्रचलित फौजदारी संहिता अनुसार, यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ, मुद्दा चलाउने, र सजायको व्यवस्था गरिएको छ ।
यदि आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिहरूको छानबिन निष्पक्ष रूपमा भयो भने, त्यसमा संलग्न जेन जीहरूमाथि पनि कारबाही हुन सक्छ । विशेषगरी भिडियो, फोटो, वा सामाजिक सञ्जालमा अभिलेखित प्रमाणहरू प्रयोग गरिँदै अबको दिनमा आन्दोलनकारीहरू पहिचान गरिने सम्भावना उच्च छ ।
भविष्यप्रति चिन्ता डर केवल शंका मात्र होइन, एक संभावित वास्तविक खतरा पनि हो । कानुनी प्रक्रिया अघि बढेपछि व्यक्तिको शैक्षिक, पेशागत, र सामाजिक भविष्यमा असर पर्न सक्छ । कतिपय अवस्थामा आन्दोलनमा सहभागी हुँदा गम्भीर परिणामको अनुमान नगर्ने युवाहरू पछिल्लो समयमा “क्रिमिनल रेकर्ड“ बोकी हिँड्न बाध्य भएका छन् ।
यो डर अनुमान मात्र होइन, वस्तुगत रुपमा एक सम्भावित खतरा हो । जेन जीहरुले भावनात्मक रुपमा सही मुद्दा उठाए पनि, रणनीतिक हिसाबले संवैधानिक संशोधन, हिंसा नियन्त्रण, र कानुनी सुरक्षा सुनिश्चित गर्न नसक्नु नै आजको प्रमुख कमजोरी हो । अबको कदम भनेको— स्पष्ट नीति बनाउनु, नेतृत्वमा उत्तरदायित्व तय गर्नु, कानुनी दायराभित्र रहेर आन्दोलन गर्नु हो । नत्र, राज्यले संविधानको भरमा जे गरे पनि “कानुनी“ नै मानिनेछ—जसको मूल्य आजका जेन जीहरुले नै चुकाउनुपर्ने स्थिति आउन सक्छ ।
Add Comment