सिरहा । सिरहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट प्रहरीले ६५२ किलोग्राम अवैध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। घटनामा प्रयोग गरिएको एक पिकअप गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार अपराह्न करिब ४:३० बजे उक्त गाडी रोकेर जाँच गरेको थियो।
प्रहरीका अनुसार पिकअप गाडीमा राखिएका नास्पातीका क्रेट पछाडि लुकाएर ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा बरामद गरिएको हो। प्रहरी निरीक्षक राजु प्रसाद ढकाल र प्रहरी सहायक निरीक्षक जोगिन्द्रकुमार साहको नेतृत्वमा खटिएको टोलीले गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेकाहरूको परिचय तथा गाँजा कहाँबाट ल्याइएको र कहाँ पुर्याउने तयारी थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा पनि थप अनुसन्धान अघि बढाइएको छ।








Add Comment