काठमाडौं । काठमाडौं उपत्यकाबाट पछिल्लो २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न १६९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार पक्राउ परेकामध्ये काठमाडौंबाट १५६ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट २ जना रहेका छन्। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस अवधिमा विभिन्न मुद्दाका २६ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको छ।
उता, उपत्यका ट्राफिक प्रहरी महाशाखाले पछिल्लो २४ घण्टामा ४०० भन्दा बढी सवारी चालकलाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाही गरेको जनाएको छ। कारबाहीमा पर्नेमा तीव्र गतिमा सवारी चलाउने १०० जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ६९ जना, रातो बत्ती उल्लंघन गर्ने ५६ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने ५२ जना, अवस्था ठीक नभएका सवारी चलाउने ५० जना, अनावश्यक हर्न बजाउने ४४ जना तथा जथाभावी यात्रु चढाउने वा ओराल्ने ३५ जना चालक रहेका छन्।
प्रहरीले ट्राफिक नियमको पालना गर्न तथा शंकास्पद गतिविधिबारे तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।







Add Comment