समाचार

लिखु जलविद्युत् आयोजनाविरुद्ध प्रभावित स्थानीयको माइतीघरमा प्रदर्शन

काठमाडौं  । लिखु–A, लिखु–१ र लिखु–२ जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाले शनिबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्दै आफ्ना मागप्रति सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रभावित स्थानीय बासिन्दा संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा युवा, ज्येष्ठ नागरिकलगायत विभिन्न उमेर समूहका स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले “हाम्रो खोला, हाम्रो अधिकार”, “विदेशी लगानी स्वागत छ, तर विदेशी दबाब स्वीकार छैन”, “राज्यको नियामक निकाय मौन हुनुको कारण के हो?” र “मुद्दा होइन, न्याय चाहियो” लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले आफूहरू विकासको विरोधी नभई विकासका नाममा स्थानीयको अधिकार, प्राकृतिक स्रोत, संस्कृति र पहिचानमाथि असर पर्न नहुने बताएका छन्। साथै, आयोजनाबाट प्रभावित स्थानीयलाई उचित क्षतिपूर्ति, स्थानीयको हक–अधिकारको सुनिश्चितता, पारदर्शी कानुनी प्रक्रिया तथा आयोजनाबाट प्राप्त हुने लाभमा स्थानीय समुदायको न्यायोचित सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले जलविद्युत् आयोजना सञ्चालन हुँदा प्रभावित क्षेत्रका बासिन्दाले आधारभूत सेवा–सुविधा, रोजगारीमा प्राथमिकता र विकासको प्रत्यक्ष लाभ पाउनुपर्नेमा समेत जोड दिएका छन्। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

📷 माइतीघरमा भएको प्रदर्शनका केही तस्बिरहरू।