काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे आयोजना हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।
पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। भेलामा सहभागी हुन अधिकांश प्रतिनिधि काठमाडौं आइपुगेका छन्।
भेलामा छलफल गरिने विषय तथा कार्यसूचीलाई बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकले अनुमोदन गरेको थियो। गत असोज ५ देखि ८ गतेसम्म सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने विषयलाई भेलाको प्रमुख एजेन्डाका रूपमा राखिएको छ।
राष्ट्रिय भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य सहभागी हुनेछन्। त्यसैगरी संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको पनि सहभागिता रहनेछ।
भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
मंसिर २ र ३ गते दुई दिनसम्म सञ्चालन हुने भेलामा पार्टीका विभिन्न तहका नेता तथा प्रतिनिधिबीच संगठनात्मक विषय र केन्द्रीय कमिटीका निर्णय कार्यान्वयनका विषयमा छलफल हुनेछ।