काठमाडौँ । तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा नेपाली यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
जर्मन दूतावासको उजुरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को लामो अनुसन्धानपछि उनीविरुद्ध राहदानी ऐनअन्तर्गत मुद्दा दायर भएको थियो। काठमाडौं जिल्ला अदालतमा साउन ११ गते मुद्दा दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा केही तिब्बती शरणार्थीले नेपाली ट्राभल डकुमेन्ट प्राप्त गर्न प्रतिव्यक्ति ४ लाख रुपैयाँ तिरेको स्वीकार गरेको खुलेको छ। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षित रूपमा बाहिरिन थप ४ लाख रुपैयाँ बुझाउनुपर्ने सर्तसमेत रहेको बताएका थिए।
सीआईबीका अनुसार गृह मन्त्रालयको अनिवार्य सिफारिसबिना नै ट्राभल डकुमेन्ट जारी गरिएको पाइएको छ। विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट सम्बन्धित कागजातमा सहसचिव भट्टराईकै हस्ताक्षर रहेको पुष्टि भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
सरकारी वकिल कार्यालयले राहदानी ऐनअन्तर्गत उनीविरुद्ध कारबाहीको माग गरेको छ। उक्त कसूरमा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना, १ देखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।








Add Comment