समाचार

भारतीय स्थल सेनाध्यक्ष र प्रधानमन्त्री बालेन शाहबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको सैन्य सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष सेठ आइतबार काठमाडौं आएका हुन्।

भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।

यसअघि सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो।