नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण नुवाकोट, रसुवा र धादिङ जिल्लामा ठुलो धनजनको क्षति भएको छ । बाढीका कारण हजारौँ नागरिकहरू हताहत र हजारौँको सङ्ख्यामा बेपत्ता भएको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटले दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटको भदौ ११ गते बसेको आकस्मिक बैठकले अकल्पनीय र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न निर्णयहरू गरेको छ । बैठक पश्चात् नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महतले एक विज्ञप्ति जारी गरेर कांग्रेसले यस दुःखद घटनामा ज्यान गुमाउनेहरू प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
यसका साथै, बाढीमा परी बेपत्ता भएका हजारौँ नागरिकहरूको तत्काल खोजतलास तथा उद्धार कार्यका लागि नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरूलाई आग्रह गरिएको छ ।
नेपाली कांग्रेस नुवाकोटले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत कार्यमा पूर्ण रूपमा सक्रियताका साथ जुट्न आफ्ना मातहतका सम्पूर्ण कार्यसमिति, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र स्थानीय जनप्रतिनिधिहरूलाई हार्दिक अपिल गरेको छ । साथै, यस विपद्को घडीमा सिर्जना हुन सक्ने जुनसुकै असहज परिस्थितिमा पार्टीको उल्लेखित संयन्त्रमा जानकारी गराउन समेत पार्टीले अनुरोध गरेको छ ।









Add Comment