रसुवा/नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि संघीय तथा स्थानीय सरकारको सहकार्यमा रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको थियो।
आइतबार मात्रै ३ हजार ४५४ जना प्रभावित नागरिकले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका थिए।
नुवाकोटका १६ वटा आश्रयस्थल तथा शिविरमा २ हजार २७४ जना नागरिकले आश्रय लिएका थिए। प्रभावित नागरिकलाई विभिन्न विद्यालय, कवर्ड हल, स्वास्थ्य चौकी तथा अन्य सुरक्षित भवनमा व्यवस्थापन गरिएको थियो।
त्यस्तै, रसुवाका १० वटा अस्थायी आश्रयस्थलमा आइतबार १ हजार १८० जना विपद् प्रभावित नागरिकले आश्रय लिएका थिए।
प्रभावित क्षेत्रमा राहत तथा स्वास्थ्य सेवा पुर्याउन विभिन्न स्थानमा मेडिकल टोलीसमेत परिचालन गरिएको थियो। भौगोलिक विकटताका कारण अधिकांश क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको जनाइएको थियो।
स्थानीय प्रशासन तथा सुरक्षा निकायले बाढी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्ने, राहत वितरण गर्ने तथा आवश्यक औषधोपचार उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएका थिए।







Add Comment