समाचार

बालेन शाह : रसुवा बाढी प्रभावित क्षेत्रमा ९ हजार ४३५ जनाको उद्धार, खोजी तथा राहत कार्य जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यलाई तीव्रता दिएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै शाहले बाढीका कारण भएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका कारण चुनौती भइरहेको बताएका छन्।

उनका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। उद्धार तथा राहतका लागि हालसम्म ३९४ वटा उडान भइसकेका छन्।

उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २० हजार ६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको शाहले बताएका छन्।

विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मात्रै २७९ जनाको उद्धार गरिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ भने चिनियाँ तथा कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी खोजी तथा उद्धार कार्य गरिरहेको जनाइएको छ।

यस्तै, नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार प्रयास जारी रहेको छ। नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङसहित सुरुङभित्र पुग्ने प्रयास गरिरहेका छन्। घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।

शाहका अनुसार माथिल्लो त्रिशूली–३ ‘बी’, रसुवाको चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा पनि नेपाली सेना तथा विदेशी विशेषज्ञ टोलीको समन्वयमा खोजी तथा उद्धार कार्य भइरहेको छ।

घाइते २६७ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रबाट हालसम्म २६७ जना घाइतेको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको शाहले बताएका छन्। तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

५ अर्ब २४ करोडभन्दा बढी आर्थिक सहयोग संकलन

प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म नौ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको जनाइएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको शाहले उल्लेख गरेका छन्।

२६ वटा आश्रयस्थल सञ्चालन

रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। ती केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।

यसैगरी, भारत र चीनलगायत विभिन्न मुलुकबाट उद्धार तथा राहत सामग्री प्राप्त भइरहेको छ। भारतबाट हालसम्म ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको र थप बेलीब्रिज सहयोगको प्रतिबद्धता आएको शाहले बताएका छन्।

सञ्चार सेवा पुनःस्थापना हुँदै

बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बिटिएस टावरको सेवा अवरुद्ध भएकोमा हालसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेको जानकारी दिइएको छ। प्रभावित क्षेत्रमा २० वटा स्याटलाइट फोनसमेत पठाइएको छ।

बाढी र पहिरोका कारण मुख्य तथा वैकल्पिक सडकहरू प्रभावित भएको भन्दै शाहले कृष्णभीर क्षेत्रमा सडक कटानका कारण यातायात अवरुद्ध भएको र सडक पुनः सञ्चालनका लागि प्रयास भइरहेको बताएका छन्।

७८१ जनाको शव फेला

बाढीका कारण हालसम्म ७८१ जनाको शव फेला परेको शाहले उल्लेख गरेका छन्। पहिचान भएका शव आफन्तलाई जिम्मा लगाउने तथा पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ।

शाहले विपद्को यस कठिन समयमा प्रभावित नागरिकसम्म राहत पुर्‍याउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।