काठमाडौं । भारतीय चर्चित अभिनेता सोनू सूदले नेपालको लायन्स क्लबसँग सहकार्य गर्दै बाढीपीडितका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। गत बुधबार चीनको तिब्बत क्षेत्रबाट हिमताल फुटेर दैवीप्रकोप हुँदा रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका स्थानमा ठूलो मात्रामा धनजनको क्षति भएको छ। राष्ट्रिय विपत्तिमा छिमेकी राष्ट्रहरूबाट उद्धार टोलीदेखि राहत सामग्रीसमेत उपलब्ध भइरहेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान यतिखेर रसुवादेखि नुवाकोट हुँदै धादिङसम्म यत्रतत्र अलपत्र परिरहेका नागरिकको उद्धार कार्यमा केन्द्रित छ।
अकल्पनीय बाढीले सो क्षेत्रमा घरबार भएका हजारौँ नागरिक प्रभावित भएका छन्। त्यसैगरी भारतीय नागरिकदेखि धार्मिक क्षेत्र, गोसाइँकुण्ड तथा मानसरोवर जाने तीर्थयात्री र विदेशी पर्यटकहरू हजारौँ सम्पर्कविहीन छन्। सयौँ लासहरू खोलाको बगरमा यत्रतत्र छरिएको अवस्थामा रहेका छन्। सुरक्षा टोलीहरूले ती शव संकलन गरेर व्यवस्थापन गर्ने कार्य गरिरहेका छन्।
यस्तो अकल्पनीय प्राकृतिक प्रकोपमा मानवीय उद्धारका लागि छिमेकी राष्ट्रका ख्यातिप्राप्त कलाकार सोनू सूद हिजो बेलुकी नेपाल आइपुगेका छन्। उद्धारका लागि उनले आफ्नो सामाजिक संस्था खालसा एड, सूद फाउन्डेसन र नेपालको राष्ट्रिय लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ सँग सहकार्य गर्दै बाढीपीडितलाई सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।
मंगलबार बेलुकी होटल क्रिस्टल पशुपति, गौशालामा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सूदले नेपालको लायन्स क्लब लगायत नेपालीहरूलाई धन्यवाद दिए। उनले खालसा एडको सम्पूर्ण परिवारले पञ्जाबको बाढीमा पनि काम गरेको उल्लेख गर्दै अहिले नेपाल यस्तो कठिन समयबाट गुज्रिरहेको देख्दा आफूहरू अगाडि आएर सक्दो सहयोग गर्न चाहेको बताए।
उनले भने, “लाग्छ, यो हाम्रो र हरेक व्यक्तिको जिम्मेवारी हो कि अगाडि आएर जे सक्छौँ, त्यो गरौँ। नेपालमा काम गरिरहेको हाम्रो एउटा राम्रो संयन्त्र छ। धेरै इन्जिनियरहरूले काम गरिरहेका छन्, स्वास्थ्य शिविरहरू आयोजना गरिएका छन्, खाना आपूर्ति भइरहेको छ। तर यो यति गाह्रो छ कि एक–दुई व्यक्तिले मात्र जित्न वा पूरा गर्न सकिँदैन। हामी सबैको आवश्यकता र सहयोगले मात्रै यो पूरा गर्न सकिन्छ।”
उनले नेपाली प्रेसमार्फत सम्पूर्णमा आह्वान गर्दै भने, “तपाईंहरूले सम्पूर्ण संसारलाई यो सन्देश पुर्याइदिनुहोस्—जो जहाँ भए पनि, जुनसुकै समुदायका भए पनि, जुनसुकै देशका भए पनि, कृपया अगाडि आएर नेपाललाई फेरि पुनर्निर्माण गर्न मद्दत पुर्याइदिनुहोस्।” अकल्पनीय बाढीका पीडितहरूले घरबार गुमाइसकेको, जीविकोपार्जन गुमाइसकेको र धेरै परिवारले आफ्ना प्रियजन गुमाएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सबैका लागि अगाडि आउन सजिलो नहुने बताए।
“त्यसैले हाम्रो फाउन्डेसन, मेरो च्यारिटी फाउन्डेसन पनि जमिनमा छ र उनीहरू यस यात्राको हिस्सा बन्न चाहन्छन्। मलाई विश्वास छ कि हामी सबैले मिलेर संसारभर यो सन्देश फैलाउन सक्छौँ कि जब कठिन समय आउँछ, हामी सबै सँगै आएर उनीहरूको दुःख र वेदनामा साथ दिन सक्छौँ,” उनले भने।
उनले पीडितको हात समातेर उनीहरूले आफूहरूसँग सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्ने बताए। “हामी उनीहरूका अनुहारहरू देख्छौँ, ती साना बालबालिका जो मुस्कुराइरहेका देखिन्छन्। उनीहरूभित्र धेरै वेदना छ, तर त्यही वेदनाको बीचमा पनि उनीहरू मुस्कुराइरहेका छन्। मेरो मन दुख्छ जब म उनीहरूलाई देख्छु। म त्यहीँ उनीहरूसँग बस्न चाहन्छु, उनीहरूले जे भन्न चाहन्छन्, त्यो सुन्न चाहन्छु,” उनले भने। गएको हप्ता आइपरेको विपत्तिलाई शब्दमा व्यक्त गर्न नसकिने भन्दै उनले असल काम गर्ने संकल्पसहित सहयोगका लागि सबैलाई आग्रह गरे।
“भगवानले हामीलाई असल काम गर्ने संकल्पहरू प्रदान गर्नुभएको छ, त्यसैले कृपया असल काम गर्नुहोस्। धनी र प्रसिद्ध भएपछि मात्र समाजसेवा गर्नुपर्छ भन्ने हुँदैन, किनकि तपाईंले दिन सक्ने एक रुपैयाँ पनि यस्तो संकटसँग लडिरहेको देशका लागि धेरै ठूलो कुरा हुनेछ,” उनले भने।
उनले नेपाललाई चाँडोभन्दा चाँडो पुनर्निर्माण गरी पुरानै अवस्थामा फर्काउन सबै मिलेर सहयोग गर्नुपर्नेमा जोड दिए। “त्यसैले हामी सँगै यो यात्रा लडौँ र नेपाललाई चाँडोभन्दा चाँडो पुनर्निर्माण गरेर पुरानै अवस्थामा फर्काउन सकौँ,” उनले भने। दुःखबाट गुज्रिरहेका सबै परिवारलाई आफूहरू साथमा रहेको बताउँदै उनले आफू नेपाललाई धेरै माया गर्ने व्यक्ति भएको बताए।
उक्त पत्रकार सम्मेलनमा विश्वको सामाजिक कार्यमा अव्वल रूपमा रहेको लायन्स अन्तर्राष्ट्रिय क्लबअन्तर्गत रहेको मल्टिपल काउन्सिल चेयरपर्सन लायन केशरबहादुर भण्डारी, लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर लायन राजन लम्साल, पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टरहरू लायन बालकृष्ण बुर्लाकोटी, लायन सञ्जय खेतान लगायत लायन्स लिडरहरूको उपस्थिति रहेको थियो। बाढीपीडितका लागि सहयोग गर्न लायन्स लिडरहरूको टोली र सोनू सूदको टोली बुधबार नुवाकोट जाँदैछन्।








Add Comment