काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।
सुरुङभित्र खोजी गर्ने क्रममा मानिसको आवाज सुनिएको संकेत प्राप्त भएपछि उद्धार टोलीले आफ्नो प्रयास थप तीव्र बनाएको जनाइएको छ। इन्जिनियर श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत नेपाली सेनाबाट सुरुङभित्र मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएको उल्लेख गरेका छन्।
उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यमा जुटेको छ। सुरुङभित्रबाट मानिसको आवाज सुनिनु उद्धारका लागि आशाजनक संकेत भएको उनले बताएका छन्।
उद्धारमा खटिएको टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेर जानकारी गराउँदा भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको जनाइएको छ।
सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको बताइएको छ। उद्धार टोलीले आवाज आएको स्थान पहिचान गरी त्यहाँसम्म पुग्ने प्रयास गरिरहेको छ।
भोटेकोशीमा आएको बाढीका कारण आयोजनाको सुरुङमा माटो, ढुंगा तथा अन्य भग्नावशेष थुप्रिएपछि उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। उद्धार टोलीले उपलब्ध उपकरण तथा जनशक्ति परिचालन गर्दै सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेको छ।
उद्धार कार्य जारी रहेकाले सुरुङभित्र रहेका व्यक्तिहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी छ।








Add Comment