विविध

रसुवा बाढी: मृतक सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

काठमाडौं — रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी तथा अन्य पीडितका लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न राहत तथा सहयोगका महत्वपूर्ण निर्णय गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा मिति २०८३ भाद्र १८ गते बसेको परामर्श समितिको बैठकले बाढीबाट प्रभावित मृतकका परिवारलाई राहत उपलब्ध गराउनेदेखि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ठूलो रकम योगदान गर्ने निर्णय गरेको हो।

बैठकले मिति २०८३ भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारी, अन्य सुरक्षाकर्मी तथा सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख योगदान

बैठकले सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ।

यसका लागि सशस्त्र प्रहरी महानिरीक्षक तथा अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायव महानिरीक्षक तथा वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरूले १० दिनको तलब बराबरको रकम योगदान गर्ने निर्णय गरिएको छ।

त्यस्तै जुनियर अधिकृतहरूले ७ दिनको, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिनको तथा सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन्।

तर, बीओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीहरूको हकमा भने रकम कट्टा नगरिने निर्णय भएको छ।

मृतकका परिवारलाई तत्काल २५ लाख रुपैयाँ

बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई राष्ट्रसेवकहरूको तर्फबाट तत्काल १५ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ।

यसका अतिरिक्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा हकवाला वा आश्रित परिवारलाई उपलब्ध गराइने राहतसम्बन्धी कार्यविधि, २०७९ बमोजिम ५ लाख रुपैयाँ तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१ बमोजिम थप ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ।

यसरी मृतक कर्मचारीका आश्रित परिवारले कूल २५ लाख रुपैयाँ राहत तत्काल प्राप्त गर्नेछन्।

बाँकी ऋण मिनाहा, सन्तानलाई शैक्षिक शुल्क छुट

बैठकले मृतक सशस्त्र प्रहरी कर्मचारीहरूले कल्याण कोषबाट लिएको र भुक्तानी गर्न बाँकी रहेको सम्पूर्ण ऋण मिनाहा गर्ने निर्णय गरेको छ।

त्यस्तै मृतक कर्मचारीका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने निर्णय पनि गरिएको छ।

परिवारका सदस्यको मृत्यु भए १ लाख राहत

बाढीका कारण सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका कुनै सदस्यको मृत्यु भएमा राहतस्वरूप प्रतिव्यक्ति १ लाख रुपैयाँ तत्काल उपलब्ध गराइने भएको छ।

साथै, सोही बाढीका कारण ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीहरूको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णय पनि गरिएको छ।

मृतक कर्मचारीका आश्रित परिवारका एक–एक जना सदस्यलाई सीपमूलक तालिम प्रदान गरिनेछ।

ज्यान जोगाउन सफल पाँच जनालाई जनही ५० हजार

बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई राहतस्वरूप जनही ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरिएको छ।

त्यस्तै बाढी प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख रुपैयाँ, घरवारविहीन भएमा १ लाख रुपैयाँ तथा आंशिक रूपमा भौतिक संरचनामा क्षति पुगेका र घाइते भएका व्यक्तिलाई ५० हजार रुपैयाँसम्म तत्काल उपलब्ध गराउने निर्णय गरिएको छ।

खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता

परामर्श समितिको बैठकले रसुवा बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ सघन रूपमा निरन्तरता दिने निर्णय गरेको छ।

साथै, खोज, उद्धार तथा राहत कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा निकायप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।