स्पोर्ट-मनोरञ्जन

आजदेखि नेपाल भलिबल लिग, पहिलो संस्करणमा ६ टोलीको प्रतिस्पर्धा

काठमाडौं । नेपाली पुरुष भलिबलमा फ्रेन्चाइज प्रतियोगिताको नयाँ सुरुवात गर्दै नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। नेपाली भलिबललाई व्यावसायिक स्वरूपमा अघि बढाउने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

केडिया ग्रुपको आयोजनामा हुने प्रतियोगिताको पहिलो खेलमा सगरमाथा स्म्यासर्स र मधेश वारियर्सबीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने उद्घाटन खेल दिउँसो ४ बजे सुरु हुनेछ। त्यसपछि साँझ ७ बजे अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली यशविसबीच दोस्रो खेल हुनेछ।

प्रतियोगिताको सुरुवातसँगै नेपाली पुरुष भलिबलमा फ्रेन्चाइज मोडलको औपचारिक प्रवेश हुँदैछ। लिगमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली यशविस र खप्तड फाल्कन्स सुदूरपश्चिम गरी ६ टोली सहभागी छन्।

प्रतियोगितामा सबै टोलीले एकअर्काविरुद्ध एक खेल खेल्नेछन्। लिग चरणबाट अंकतालिकाको पहिलो स्थानमा रहने टोलीले फाइनलमा सिधै स्थान बनाउनेछ भने दोस्रो र तेस्रो हुने टोलीबीच प्लेअफ खेल हुनेछ। उक्त खेलको विजेताले फाइनलमा शीर्ष स्थानको टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

एनभीएलको पहिलो संस्करणको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। आयोजकका अनुसार प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। उपविजेता, विधागत उत्कृष्ट खेलाडी तथा प्लेअर अफ द म्याचलगायतका पुरस्कारका लागि बाँकी रकम छुट्याइएको छ। ठूलो पुरस्कार राशिका कारण पनि पहिलो संस्करणको एनभीएललाई नेपाली भलिबलमा विशेष महत्वका साथ हेरिएको छ।

यसपटक प्रतियोगितामा विदेशी खेलाडीको सहभागिताले पनि आकर्षण थपेको छ। ६ वटा टोलीबाट विभिन्न १० देशका १८ विदेशी खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। पाकिस्तानबाट पाँच, भारत र मंगोलियाबाट तीन–तीन खेलाडी सहभागी छन्। त्यस्तै इरान, रुस, पोल्यान्ड, बेलारुस, सर्विया, ब्राजिल र बेनिनबाट पनि खेलाडी नेपाल आएका छन्।

विदेशी खेलाडीको उपस्थितिले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग एउटै कोर्टमा प्रतिस्पर्धा गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ। यसबाट नेपाली खेलाडीको अनुभव र खेलस्तर विकासमा समेत सहयोग पुग्ने विश्वास आयोजकको छ।

एनभीएलले युवा प्रतिभालाई समेत प्राथमिकता दिएको छ। प्रतियोगितामा सहभागी प्रत्येक फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टमार्फत १९ वर्षमुनिका एक–एक खेलाडीलाई टोलीमा समावेश गरेका छन्। नयाँ खेलाडीले राष्ट्रिय तथा विदेशी खेलाडीसँग प्रशिक्षण र प्रतिस्पर्धाको अनुभव हासिल गर्ने अवसर पाउनेछन्।

यसैबीच, लिगको पहिलो दिन बिक्री हुने टिकटबाट प्राप्त सम्पूर्ण रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।

फ्रेन्चाइज टोली, खेलाडी अक्सन, विदेशी खेलाडीको सहभागिता, आकर्षक पुरस्कार र युवा खेलाडीको उपस्थितिले एनभीएलको पहिलो संस्करणप्रति भलिबल समर्थकको चासो बढेको छ। आजबाट सुरु हुने प्रतियोगिताले नेपाली पुरुष भलिबललाई व्यावसायिकतातर्फ लैजान नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।