विविध

भारतमा वाइवाई उत्पादनमाथि कारबाही, केही उत्पादन रोक्न निर्देशन

काठमाडौं । भारतको खाद्य सुरक्षा नियामक निकायले नेपालका उद्योगपति विनोद चौधरी नेतृत्वको सीजी कर्प ग्लोबलसँग सम्बन्धित कम्पनीलाई केही उत्पादनको निर्माण रोक्न निर्देशन दिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार भारतको राजस्थानस्थित सीजी फुड्स इन्डियाको कारखानामा गरिएको निरीक्षण तथा छापापछि खाद्य सुरक्षा अधिकारीहरूले उक्त निर्देशन दिएका हुन्।

निरीक्षणका क्रममा कारखानाको भुइँमा झरेका तथा फुटेका चाउचाउका टुक्रा सङ्कलन गरी भारतीय खाजाका केही उत्पादन बनाउन प्रयोग गरिएको पाइएको दाबी गरिएको छ। यसपछि भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले सम्बन्धित उत्पादनको निर्माण रोक्न आदेश दिएको रोयटर्सले जनाएको छ।

सीजी फुड्स इन्डिया, नेपाली अर्बपति विनोद चौधरी नेतृत्वको बहुराष्ट्रिय व्यावसायिक समूह सीजी कर्प ग्लोबलसँग सम्बन्धित कम्पनी हो। वाइवाई इन्स्ट्यान्ट नुडल्स ब्रान्डका कारण विनोद चौधरी अन्तर्राष्ट्रिय रूपमा समेत परिचित छन्।

भारतमा पछिल्ला दिनहरूमा खाद्य स्वच्छता र गुणस्तरलाई लिएर होटल, रेस्टुरेन्ट तथा खाद्य उत्पादन गर्ने उद्योगमाथि निगरानी र कारबाही बढाइएको छ। सोही क्रममा चर्चित अन्तर्राष्ट्रिय ब्रान्डहरूका केही आउटलेटमाथि समेत नियामक कारबाही भएको बताइएको छ।

खाद्य सुरक्षा निकायले सीजी फुड्स इन्डियाको उक्त कारखानासँग सम्बन्धित केही उत्पादनको उत्पादन रोक्न निर्देशन दिएको भए पनि घटनाबारे कम्पनीको थप प्रतिक्रिया आउन बाँकी रहेको छ।