विविध

दार्चुलामा ठूलो पहिरो, नदी थुनिएपछि जोखिममा परे स्थानीय

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा लगातारको वर्षाका कारण आएको ठूलो पहिरोले चमेलिया नदी थुनिएको छ। पहिरोका कारण नदीको बहाव करिब आधा घण्टासम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो।

नदी थुनिएपछि भटार गाउँका करिब १० देखि १५ परिवार उच्च जोखिममा परेका छन्। पहिरोले स्थानीयको खेतीयोग्य जमिन बगाउनुका साथै बस्तीसमेत जोखिममा परेको छ।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठकरे बोहराका अनुसार पहिरोले नदीको बहाव रोके पनि पानीले पहिरो कटान गर्न थालेपछि नदीको बहाव पुनः सुरु भएको छ। तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ्न सक्ने जोखिम अझै रहेको उनले बताए।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाउँपालिकाले भटार क्षेत्रका स्थानीय बासिन्दा र उनीहरूका पशुचौपायालाई सुरक्षित स्थानमा सार्ने काम सुरु गरेको जनाएको छ।

गाउँपालिकाका अध्यक्ष बोहराका अनुसार घटनास्थलमा वडाध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारी पुगेका छन्। थप क्षति हुन नदिन र उद्धारका लागि नजिकैको प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको छ।

उक्त स्थानमा यसअघि पनि तीनदेखि चार वर्षअघि पहिरो गएको थियो। तर स्थानीय बासिन्दाका अनुसार यस वर्ष आएको पहिरो अघिल्लोपटकको भन्दा निकै ठूलो छ।

वर्षा निरन्तर भइरहेकाले चमेलिया नदीको तटीय तथा तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समेत सतर्क रहन आग्रह गरिएको छ।