काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
सगरमाथाले पहिलो र दोस्रो सेट समान २५–२१ ले आफ्नो पक्षमा पार्यो। मधेशले तेस्रो सेटमा पुनरागमन गर्दै २५–२३ को जित निकाले पनि चौथो सेटमा सगरमाथा फेरि हाबी भयो। चौथो सेट २५–२१ ले जित्दै सगरमाथाले खेल आफ्नो पक्षमा पारेको हो।
उत्कृष्ट प्रदर्शन गरेका सगरमाथाका अइमल खान खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनले पुरस्कारस्वरूप प्राप्त २० हजार रुपैयाँ बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन्।
प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गरेको प्रतियोगितामा ६ पुरुष फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा टोलीहरूले सुरुमा सिंगल राउन्ड रोबिन प्रणालीमा प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा शीर्ष स्थान हासिल गर्ने टोली सिधै फाइनल पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले भने फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।
एनभीएलको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। नेपाली भलिबलको इतिहासमै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनमा आयोजना भइरहेको प्रतियोगिताको फाइनल भदौ २८ गते हुनेछ। प्रतियोगितामा विभिन्न व्यावसायिक साझेदारको समेत सहभागिता रहेको छ।
यसैगरी, शुक्रबार नै भएको दोस्रो खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्समाथि ३–१ को जित हासिल गरेको छ। कर्णालीले २५–२२, १९–२५, २६–२४ र २५–२२ को सेटमा खेल आफ्नो पक्षमा पारेको हो।
कर्णालीका मार्की खेलाडी पहल गहतराज दोस्रो खेलका ‘म्यान अफ द म्याच’ घोषित भए। उनले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलोपटक आयोजना गरिएको हो। प्रतियोगिताको फाइनल भदौ २८ गते हुने कार्यक्रम रहेको छ।








Add Comment