काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सुशासनको अभावमा संसद्को दुई तिहाइ बहुमतले मात्रै राजनीतिक स्थिरता दिन नसक्ने बताएकी छन्। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले राजनीतिक स्थायित्व संसदीय अंकगणितभन्दा पनि नेतृत्वको चरित्र र कार्यशैलीमा निर्भर रहने बताएकी हुन्।
उनले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई कडा सन्देश दिएको उल्लेख गरेकी छन्। भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको आत्मसम्मानको प्रत्याभूतिका लागि सरकार गम्भीर हुनुपर्नेमा कार्कीले जोड दिएकी छन्।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। सुशासन, जवाफदेहिता र पारदर्शिताको माग गर्दै युवाहरूले उठाएको शान्तिपूर्ण आवाज दबाउने क्रममा निर्दोष नागरिकको ज्यान गएको, कैयौँ नागरिक अपाङ्ग भएको र राष्ट्रिय धरोहरहरू नष्ट भएको उनले उल्लेख गरेकी छन्।
त्यस क्रममा भएको क्षति र पीडाको घाउ राष्ट्रिय रूपमा लामो समयसम्म रहने बताउँदै कार्कीले फेरि जनता सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबै पक्ष जिम्मेवार र चनाखो बन्नुपर्ने बताएकी छन्।
यसैबीच, मुलुक अहिले भोटेकोशी बाढीबाट सिर्जित नयाँ विपद् र पीडाबाट गुज्रिरहेको उल्लेख गर्दै कार्कीले कठिन परिस्थितिमा धैर्यता, जिम्मेवारी र ऐक्यबद्धताका साथ एकअर्काको सहारा बन्न सबै नागरिकलाई आह्वान गरेकी छन्।








Add Comment