काठमाडौं । भोटेकोशी बाढीपछि राहत तथा उद्धारका लागि जुटाइएको प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि स्वदेश तथा विदेशबाट संकलन भएको रकम कोषमा जम्मा हुँदै आएको हो।
कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ रहेको छ। यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि भने प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
बाढीबाट रसुवा, नुवाकोटसहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि तत्काल राहत तथा उद्धारका लागि सरकारले विभिन्न निकायमार्फत काम अघि बढाउँदै आएको छ। राहतसँगै प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि समेत ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ।
सरकारले बाढी प्रभावित नागरिकलाई सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संघसंस्था र अन्य निकायलाई सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न आह्वान गरेको थियो।