काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
महाशाखाका अनुसार अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदलीको अवस्थामा छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
देशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान छ।
दिउँसो कोशी र कर्णालीका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी र तराई भू–भागका केही स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाको अनुमान छ।
राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउनुपर्ने देखिन्छ।








Add Comment