आज असोज ३ : संविधान दिवस, देशभर विविध कार्यक्रम

आज असोज ३ : संविधान दिवस, देशभर विविध कार्यक्रम

काठमाडौं । नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ। दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको हो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाह, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्चपास, झाँकी र सांस्कृतिक प्रस्तुति दिएका थिए। समारोहमा संविधानको महत्व, राष्ट्रिय एकता र लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने विषयमा जोड दिइएको थियो।

नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको हो। संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता तथा मौलिक हकलाई संस्थागत गरेको संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ।

यस वर्ष पनि संविधान दिवसका अवसरमा प्रदेश तथा स्थानीय तहसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायले विविध कार्यक्रम आयोजना गरेका छन्। विदेशस्थित नेपाली नियोगहरूमा समेत दिवसका कार्यक्रम आयोजना गरिएको छ।

दिवसका अवसरमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्पका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले नागरिक स्वतन्त्रता, कानुनी शासन, समावेशी प्रतिनिधित्व, सामाजिक न्याय तथा राज्यबाट प्राप्त हुने सेवा–सुविधामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

संविधान जारी भएको एक दशकभन्दा बढी समय बितिसकेको अवस्थामा संविधानले प्रत्याभूत गरेका अधिकार र व्यवस्थालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषय यस वर्षको संविधान दिवसमा पनि प्रमुख रूपमा उठेको छ।

संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न साझा प्रयासको आवश्यकता स्मरण गराएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply