वर्षासँगै बढ्यो जोखिम, सरकारको यस्तो तयारी—७७ जिल्लामा सुरक्षा संयन्त्रदेखि अस्पतालसम्म अलर्ट

वर्षासँगै बढ्यो जोखिम, सरकारको यस्तो तयारी—७७ जिल्लामा सुरक्षा संयन्त्रदेखि अस्पतालसम्म अलर्ट

काठमाडौं । देशभर भइरहेको वर्षाका कारण सम्भावित विपद्को जोखिम बढेपछि सरकारले नागरिकको जनधन जोगाउन सबै संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ। बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि संघदेखि स्थानीय तहसम्मका निकायलाई पूर्वतयारी र प्रतिकार्यमा परिचालन गरिएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि नै सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी र तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार मन्त्रालय तथा मातहतका निकायहरूले विपद् व्यवस्थापनको तयारीलाई तीव्र बनाएका छन्।

कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै मानवीय तथा भौतिक क्षति रोक्न राज्यका सबै संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गरिएको बताएका छन्। उनले विपद्पछिको प्रतिकार्यमा स्थानीय तहले आफ्नै स्रोतसाधन प्रयोग गर्न कुनै कञ्जुस्याइँ नगर्न आग्रह गरेका छन्।

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आवश्यक सुरक्षा तयारी गर्न निर्देशन दिएको छ। जिल्ला सुरक्षा समितिको बैठकमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ। नदी तथा खोला किनारका बस्तीमा माइकिङ गरेर सचेत गराउने र जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको छ।

स्वास्थ्यतर्फ अस्पताल, एम्बुलेन्स र स्वास्थ्य केन्द्रलाई आपत्कालीन सेवाका लागि तयारी अवस्थामा राखिएको छ। सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत अस्पतालमा आवश्यक जनशक्ति, औषधि तथा एम्बुलेन्स सेवा २४ घण्टा सञ्चालनका लागि तयारी गरिएको छ।

पर्यटनतर्फ पनि सम्भावित जोखिमलाई ध्यान दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न तथा सहजीकरण गर्न होटल व्यवसायीलाई आग्रह गरेको छ। मौसमअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र आवश्यक उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार विद्यालय बन्द गर्न सकिने व्यवस्था गरेको छ। असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने भनिएका निर्धारित परीक्षाहरू स्थगित गर्न तथा सुरक्षित विद्यालय भवनलाई आवश्यक परेको अवस्थामा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सहजीकरण गरिएको छ।

खाद्यान्न र इन्धन आपूर्तिलाई सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था कम्पनी र नेपाल आयल निगमलाई पर्याप्त मौज्दात राख्न तथा नियमित वितरण सुनिश्चित गर्न निर्देशन दिएको छ। सम्भावित कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनसमेत तीव्र पारिएको छ।

बाढीको पूर्वसूचनालाई थप प्रभावकारी बनाउन प्रमुख नदीमा पाँच दिन र साना नदीमा ४८ घण्टाअघि जानकारी पाउने व्यवस्था मिलाइएको छ। विद्युत् अवरुद्ध भएका क्षेत्रमा सेवा यथाशीघ्र सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ।

कृषि क्षेत्रमा बालीनाली तथा कृषि उपजमा हुन सक्ने क्षति घटाउन विशेष कृषि मौसम सल्लाह बुलेटिन दैनिक रूपमा जारी भइरहेको छ। सडकतर्फ जोखिमयुक्त स्थानमा डोजर तथा एक्स्काभेटरजस्ता भारी उपकरण तयारी अवस्थामा राखिएको छ भने जोखिमपूर्ण सडकखण्डमा रातिको समयमा आवागमन रोक्ने व्यवस्था गरिएको छ।

स्थानीय तहमा कार्यरत कर्मचारीलाई समेत विपद् प्रतिकार्यमा परिचालन गर्न असोज ११ गतेसम्म बिदामा नबस्न निर्देशन दिइएको छ। ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई नियमित सम्पर्कमा रहन भनिएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमले नियमित सचेतनामूलक सन्देश पठाउने व्यवस्था गरेको छ। नागरिकले ११५५ मा डायल गरेर मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना लिन सक्नेछन्।

आपत्कालीन अवस्थामा जल तथा मौसम विज्ञान विभाग ११५५, जिल्ला आपत्कालीन केन्द्र १२३४, हेलो सरकार ११११, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी १११४ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply