NPL सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा अनलाइन सट्टेबाजी गराउने ५ जना पक्राउ

NPL सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा अनलाइन सट्टेबाजी गराउने ५ जना पक्राउ

दाङ । नेपाल प्रिमियर लिग (NPL) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङको लमहीबाट पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक नेपाली र चार भारतीय नागरिक रहेका छन्।

प्रहरीका अनुसार लमही नगरपालिका–५, रातोडाँडास्थित जस्मिन होटल एण्ड लजको तेस्रो तलामा रहेका कोठा नम्बर २०३ र २०४ भाडामा लिएर अनलाइन बेटिङ प्लेटफर्म सञ्चालन भइरहेको सूचनाका आधारमा छापा मारिएको हो।

हिजो साँझ करिब ७ः३० बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले खानतलासी गर्दा Kush 777 लगायतका अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबार भइरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले सट्टेबाजीमा प्रयोग गरिएका विभिन्न कम्पनीका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी कुल १८ थान विद्युतीय उपकरण बरामद गरेको छ।

पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply