सर्लाहीमा वृद्ध दम्पतीमाथि इँटाले प्रहार, उपचारका क्रममा एक जनाको मृत्यु

सर्लाहीमा वृद्ध दम्पतीमाथि इँटाले प्रहार, उपचारका क्रममा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–९ बसन्तपुरमा वृद्ध दम्पतीमाथि इँटाको टुक्राले आक्रमण गरी गम्भीर घाइते बनाएको घटनामा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार गत कात्तिक २७ गते राति करिब १० बजे स्थानीय शंकर कुमार यादव घरभित्र प्रवेश गरी सुतिरहेका वृद्ध दम्पतीमाथि इँटाको टुक्राले टाउको तथा अनुहारमा अन्धाधुन्ध प्रहार गरेका थिए। आक्रमणपछि उनी फरार भएका थिए।

कात्तिक २८ गते बिहान दम्पती लामो समयसम्म नउठेपछि जेठा छोराले घरमा पुगेर हेर्दा दुवै जना गम्भीर घाइते अवस्थामा फेला पारेका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले घाइते दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थियो।

घाइतेमध्ये एक जनाको उपचारकै क्रममा मंसिर ३ गते मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा शंकर कुमार यादवलाई कात्तिक २८ गते आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लागुऔषध गाँजा सेवन तथा किनबेचको विषयमा मृतक र आरोपितबीच विवाद उत्पन्न भएको र सोही रिसइबीका कारण आक्रमण भएको खुलेको छ।

पक्राउ परेका यादवविरुद्ध सुरुमा ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो। पीडितको मृत्यु भएपछि ज्यानसम्बन्धी कसुरमा समेत थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply