जीतपुरसिमरा कांग्रेसमा सहमति, नगर सभापतिमा रमेश पण्डित चयन

जीतपुरसिमरा कांग्रेसमा सहमति, नगर सभापतिमा रमेश पण्डित चयन

जीतपुर । नेपाली कांग्रेसको जीतपुरसिमरा उपमहानगरपालिका नगर समितिको नेतृत्व चयनमा अन्तिम समयमा सहमति जुटेको छ। सहमतिपछि रमेश पण्डित नगर सभापतिमा निर्विरोध चयन भएका छन्।

सभापतिका लागि पण्डितसँगै छविलाल शर्माले पनि उम्मेदवारी दिएका थिए। मतदानको तयारी भइरहेका बेला शर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएर पण्डितलाई समर्थन गरेपछि निर्वाचन गर्नुपर्ने अवस्था आएन।

बिहीबार राति उम्मेदवारी दर्ता भएको थियो भने शुक्रबार बिहान साढे ११ बजे मतदान गर्ने कार्यतालिका थियो। तर मतदानअघि नै दुवै पक्षबीच सहमति भएपछि नगर समितिको नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो।

सहमतिकै आधारमा नगर समितिका अन्य पदाधिकारी पनि निर्विरोध भएका छन्। उदयबहादुर श्रेष्ठ उपसभापति, ज्ञानीदेवी पासवान महिला उपसभापति, विनोद अधिकारी सचिव र दीपक दाहाल सहसचिवमा चयन भएका छन्।

निर्वाचन अधिकृत सूर्यजीत सिंहका अनुसार नगर समितिमा निर्वाचित हुने ५३ सदस्यमध्ये पाँच पदाधिकारीसहित २२ जना अहिलेसम्म निर्विरोध चयन भएका छन्। बाँकी सदस्यहरू नगर समितिले मनोनयन गर्ने प्रक्रिया रहेको छ।

निर्विरोध चयन भएका पदाधिकारी तथा सदस्यलाई कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले प्रमाणपत्र प्रदान गरेका थिए।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply