काठमाडौं । मौसममा आएको प्रतिकूलताले हवाई यातायातमा समेत असर पारेको छ। आकाशमा पर्याप्त दृश्यता कायम हुन नसक्दा आज विभिन्न आन्तरिक गन्तव्यतर्फका उडान प्रभावित भएका हुन्।
बुद्ध एयरका अनुसार भरतपुर र तुम्लिङटारतर्फको उडान अहिले सञ्चालनमा आउन सकेको छैन। दुवै विमानस्थलको भिजिबिलिटी आवश्यक स्तरमा नपुगेका कारण उडानका लागि अनुकूल अवस्था बन्न नसकेको कम्पनीले जनाएको छ।
पोखरातर्फ भने अवस्था केही सहज बन्दै गएको छ। विमानस्थल क्षेत्रमा दृश्यता विस्तारै बढिरहेको र अवस्था थप अनुकूल भएमा उडान सेवा नियमित गर्न सकिने बुद्ध एयरको भनाइ छ।
मौसमकै कारण आज सञ्चालन हुने भनिएका सबै माउन्टेन फ्लाइट पनि स्थगित गरिएका छन्। कम दृश्यताका कारण हिमाली क्षेत्रको दृश्य स्पष्ट नहुने मात्र होइन, उडान सुरक्षाका दृष्टिले समेत उपयुक्त अवस्था नरहेकाले सेवा रोकिएको कम्पनीले जनाएको छ।
मौसमको अवस्थाअनुसार उडान समय परिवर्तन हुन सक्ने भएकाले यात्रुलाई विमानस्थल पुग्नुअघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडानबारे जानकारी लिन आग्रह गरिएको छ।