आवासीय चिकित्सक विवादमा नेशनल मेडिकल कलेजले माग्यो पिजी विद्यार्थी फिर्ता

आवासीय चिकित्सक विवादमा नेशनल मेडिकल कलेजले माग्यो पिजी विद्यार्थी फिर्ता

वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) समक्ष अनुरोध गरेको छ।

कलेज प्रशासनका अनुसार आवासीय चिकित्सकसँगको विवाद समाधानका लागि पटक–पटक वार्ता र संस्थागत पहल गरिए पनि सहमति बन्न सकेन। आन्दोलनका कारण अस्पतालको स्वास्थ्य सेवा तथा कलेजको नियमित शैक्षिक गतिविधिमा असर परेको कलेजको दाबी छ।

कलेजले जारी गरेको विज्ञप्तिअनुसार विवादको सुरुवात गत १३ सेप्टेम्बरमा आवासीय चिकित्सकले उठाएका तीन विषयबाट भएको थियो। स्टाइपेन्ड तथा प्रोत्साहन भत्ता, शनिबारको हाजिरी र २४ घण्टे ड्युटीपछि पाउने विश्रामसम्बन्धी विषय उनीहरूले उठाएका थिए।

कलेजले ती विषयमा तत्काल छलफल गरी समाधान गरिएको र आईओएमलाई समेत जानकारी गराइएको जनाएको छ। तर त्यसपछि थप मागसहित पेन–डाउन कार्यक्रम सुरु भएको कलेजको भनाइ छ।

विवाद बढ्दै गएपछि १८ सेप्टेम्बरमा कलेजले वार्ताका लागि आह्वान गरेको थियो। त्यसक्रममा प्रारम्भिक मागसँगै आन्दोलनका क्रममा उठाइएका अन्य विषयमा पनि छलफल भएको कलेजले जनाएको छ।

त्यसपछि २० सेप्टेम्बरमा कलेजले लिखित समाधान प्रस्ताव अघि सारेको थियो। प्रस्तावमा स्त्री तथा प्रसुति विभागसँग सम्बन्धित विषयमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने, ड्युटी तथा पोस्ट–ड्युटी विश्राम, स्टाइपेन्ड, हाजिरी र बिदासम्बन्धी विषयलाई व्यवस्थापन गर्ने तथा आवश्यक विषयमा आईओएमको राय लिने प्रस्ताव गरिएको थियो।

तर उक्त प्रस्तावमा आन्दोलनरत चिकित्सकले हस्ताक्षर नगरेको कलेजको दाबी छ। नियमित शैक्षिक तथा क्लिनिकल जिम्मेवारीमा फर्कन औपचारिक सूचना दिइए पनि त्यसमा प्रतिक्रिया नआएको कलेजले जनाएको छ।

यसबीच आन्दोलनका क्रममा ड्युटीमा रहेका चिकित्सक तथा संकाय सदस्यमाथि दबाब सिर्जना गरिएको कलेजको आरोप छ। कलेज परिसरको सीसीटीभी तथा भिडियो अभिलेखमा चिकित्सक तथा संकाय सदस्यलाई समूहले घेराउ गरेको र एक चिकित्सकलाई कार्यस्थलबाट हटाइएको दृश्य रहेको कलेजले जनाएको छ।

कलेजले आन्दोलनका क्रममा उठाइएका विषयमा सात जना प्रथम वर्षका आवासीय चिकित्सकसँग सम्बन्धित विचाराधीन कानुनी मुद्दा, स्त्री तथा प्रसुति विभागको अनुशासनसम्बन्धी विषय, आन्दोलन अवधिको तलब तथा हाजिरी र बायोमेट्रिक हाजिरीलगायतका विषय पनि समेटिएको जनाएको छ।

कलेज प्रशासनले अहिलेको विवादलाई केवल माग पूरा गर्ने विषयका रूपमा नभई शैक्षिक अनुशासन, क्लिनिकल प्रशिक्षण र स्वास्थ्य सेवा सञ्चालनसँग जोडिएको विषयका रूपमा लिएको जनाएको छ।

यही अवस्थालाई आधार बनाउँदै कलेजले शैक्षिक सत्र २०८२ का सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई आफ्नो संस्थाबाट फिर्ता बोलाई अर्को व्यवस्था गर्न आईओएमसमक्ष अनुरोध गरेको हो।

कलेज प्रशासन प्रमुख विश्वनाथ कंठद्वारा जारी विज्ञप्तिमा उक्त अनुरोध विद्यार्थीले गुनासा राखेकै कारण गरिएको कारबाही नभई वार्ता र समाधानका विभिन्न प्रयासपछि संस्थागत वातावरण प्रभावित भएको अवस्थामा गरिएको निर्णय भएको उल्लेख गरिएको छ।

कलेजले विवादसम्बन्धी पत्राचार, वार्ताका विवरण, लिखित प्रस्ताव, संकाय बैठकका माइन्युट तथा आवश्यक परे सीसीटीभी अभिलेखसमेत सम्बन्धित निकायलाई उपलब्ध गराउन सकिने जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply