काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि सञ्चालन गरेको एमबीबीएस कार्यक्रमको एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) को नतिजा सार्वजनिक गरेको छ।
आयोगको परीक्षा निर्देशनालयले बुधबार (मंसिर २ गते) योग्यताक्रमअनुसार परीक्षाफल प्रकाशित गरेको हो। गत कात्तिक १४ गते सञ्चालन भएको परीक्षामा सहभागी उम्मेदवारमध्ये योग्यताक्रममा पर्न सफल परीक्षार्थीहरूको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ।
परीक्षार्थीले आफ्नो अनलाइन प्रोफाइलमार्फत पनि नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
आयोगका अनुसार उत्तरपुस्तिका (ओएमआर सिट) मा रोल नम्बर वा प्रश्नपत्रको सेटसम्बन्धी बबल नभरेका, गलत भरेका तथा परीक्षाको मर्यादाविपरीत कार्य गरेका केही परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको छ।
त्यस्तै, नतिजा पुनर्योग (रिटोटलिङ) सम्बन्धी सूचना पछि आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ।
परीक्षार्थीले आयोगको आधिकारिक वेबसाइट mec.gov.np मार्फत थप जानकारी प्राप्त गर्न सक्नेछन्।