काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–३ निवासी एक महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाले हवाई उद्धार गरेको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन हुँदै आएको गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएको हो।
कार्तिक २० गते ३४ वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हवाई साधनमार्फत कर्णाली प्रदेश अस्पताल पुर्याइएको मन्त्रालयले जनाएको छ।
दुर्गम तथा विकट भौगोलिक क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा गर्भवती र सुत्केरी महिलाले समयमै उपचार पाउन कठिनाइ भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले यस्तो हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमले जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन सहयोग पुर्याउँदै आएको छ।