सुर्खेतको लागुऔषध प्रकरणमा नयाँ मोड, पक्राउ परेका दुई जनासँग भेटियो सुरक्षाकर्मीको कागजात!

सुर्खेतको लागुऔषध प्रकरणमा नयाँ मोड, पक्राउ परेका दुई जनासँग भेटियो सुरक्षाकर्मीको कागजात!

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले कात्तिक २० गते वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलाबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सुरुमा रुपेश घर्ती मगर र कुमारबहादुर रास्कोटीलाई ३.१९० ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको थियो। उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा बालाराम पौडेल र नवराज चालिसेलाई पनि थप ८.८३० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१३ का २३ वर्षीय रुपेश घर्ती मगर र २७ वर्षीय कुमारबहादुर रास्कोटी तथा वडा नम्बर १२ का ३१ वर्षीय बालाराम पौडेल र ३५ वर्षीय नवराज चालिसे रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट कुल १२.०२ ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ।

यस घटनामा अर्को चासोको विषय पक्राउ परेकामध्ये नवराज चालिसेको साथबाट सशस्त्र प्रहरी सहायक हवल्दारको परिचयपत्र र रुपेश घर्ती मगरको साथबाट सशस्त्र प्रहरी परिचरको नियुक्तिसम्बन्धी प्रमाणपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ।

बरामद परिचयपत्र तथा नियुक्तिसम्बन्धी कागजातको वास्तविकता र उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply