ललितपुर । राष्ट्रिय बाल अधिकार परिषद्को सदस्य–सचिवमा नियुक्त बाल अधिकार अभियन्ता शान्त कुमार भण्डारीले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १७ गतेको निर्णयअनुसार बालबालिकासम्बन्धी नियमावली, २०७८ को दोस्रो संशोधन नियमावली, २०८३ बमोजिम भण्डारीलाई उक्त पदमा नियुक्त गरिएको हो।
ओखलढुंगाको सिंहदेवी, कुवापानी स्थायी घर भएका भण्डारी हाल लामो समयदेखि ललितपुरको गोदावरी नगरपालिका–१ मा बसोबास गर्दै आएका छन्। उनले शुक्रबार (कात्तिक २० गते) पुल्चोकस्थित श्रीमहलमा रहेको परिषद्को कार्यालय पुगेर पदभार सम्हालेका हुन्।
पदभार ग्रहण कार्यक्रममा परिषद्का कर्मचारीहरूले नवनियुक्त सदस्य–सचिव भण्डारीलाई स्वागत गर्दै परिषद्का कामकारबाही तथा जिम्मेवारीबारे जानकारी गराएका थिए। कार्यक्रममा कर्मचारीहरूले आ–आफ्नो परिचयसमेत दिएका थिए।
परिषद्ले बाल अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय भण्डारीलाई सदस्य–सचिवका रूपमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।