दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते, एकजना पक्राउ

दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते, एकजना पक्राउ

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहार गरी कुटपिट गर्दा एकै परिवारका पाँचजना घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३६/३७ वर्षीय बमबहादुर रावतलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार २०८३ कात्तिक २२ गते बिहान करिब ५ बजे रावत स्थानीय चन्द्रबहादुर पुन मगरको घरमा पुगेर धारिलो हतियार हँसिया प्रहार गर्दै कुटपिट गरेका थिए । उक्त घटनामा पुनकी श्रीमती, भाइबुहारी, दुई छोरी र तीन महिनाकी नातिनी घाइते भएका हुन् ।

घाइतेमध्ये ४५ वर्षीया बिमा मगरको टाउको र अनुहारमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै, २५ वर्षीया महेसरा पुनका दुवै हत्केला काटिएका छन् । अन्य घाइते २० वर्षीया लक्ष्मी पुन, २३ वर्षीया तिला पुन मगर र तिला पुन मगरकी तीन महिनाकी छोरी जानकी रोक्का मगरको अवस्था मध्यम रहेको छ ।

घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेकोमा गम्भीर घाइते बिमा मगरलाई बिहान ११ः०५ बजे स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ ।

घटनाबारे बिहान करिब ५ बजे प्रहरी चौकी ठाटीकाँधमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक लालबहादुर शाहीको कमाण्डमा चारजनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहान ८ः४० बजे इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कडेलको कमाण्डमा नौजनाको थप प्रहरी टोलीसमेत घटनास्थलतर्फ खटाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपित रावत प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply