काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ ।
शुक्रबार आयोजित एक समारोहबीच बैंकका सञ्चालक समिति अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गर्दै भवन निर्माणको शुभारम्भ गर्नुभएको हो ।
करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने उक्त भवन १२ तलाको हुनेछ । भवनमा सवारीसाधन पार्किङका लागि दुईवटा भूमिगत बेसमेन्ट, एउटा भुइँतला र माथि नौवटा तला रहनेछन् ।
आधुनिक वास्तुकला, वातावरणमैत्री पूर्वाधार तथा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत भवनलाई काठमाडौं उपत्यकाकै नमुना व्यावसायिक संरचनाका रूपमा विकास गर्ने बैंकको योजना छ ।
भूमिपूजापछि बोल्दै अध्यक्ष ढकालले प्रस्तावित भवन वाणिज्य बैंकहरूका कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठूलो संरचनामध्ये एक हुने बताउनुभयो । उहाँले नयाँ भवनले बैंकको संस्थागत पहिचानलाई थप मजबुत बनाउनुका साथै सेवाग्राहीलाई सहज, प्रविधिमैत्री र प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही तथा कर्मचारीको सुविधालाई केन्द्रमा राखेर भवनको डिजाइन र निर्माण योजना तयार गरिएको बताउनुभयो । पार्किङ व्यवस्थादेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो ।
भवनलाई ऊर्जा बचत गर्ने प्रविधिमा आधारित बनाइने बैंकले जनाएको छ । पानीको व्यवस्थापनका लागि आकाशे पानी सङ्कलन तथा प्रशोधन प्रणाली जडान गरिनेछ भने विद्युत् खपत न्यूनीकरण गर्न सौर्य ऊर्जाको समेत प्रयोग गरिनेछ । यसबाट प्राकृतिक स्रोतको उचित उपयोग र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूहका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।