कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया महिलाको मृत्यु

कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ) को मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–३ स्थित बसुन्धाराको सडकखण्डमा आइतबार दिउँसो भएको दुर्घटनामा दोलखा घर भई हाल काठमाडौं महानगरपालिका–३ बस्ने शेर्पा घाइते भएकी थिइन्।

प्रहरीका अनुसार दिउँसो २ः२० बजे नारायणगोपाल चोकबाट सामाखुशी जाँदै गरेको बा.प्र.०१–०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको बा.प्र.०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। कार धादिङ घर भई हाल बालुवाटार बस्ने ४२ वर्षीया शान्ताकुमारी तामाङले चलाएकी थिइन् भने स्कुटर दोलखा घर भई हाल बुढानीलकण्ठ बस्ने २४ वर्षीय सोमबहादुर धामीले चलाएका थिए।

दुर्घटनामा घाइते शेर्पालाई तत्काल उपचारका लागि बसुन्धारास्थित ग्रिनसिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो ३ः१७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

स्कुटर चालक धामी सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कार चालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा राखिएको छ।

कारलाई साँझ ४ बजे नेपाल प्रहरी प्रतिकार्य तथा तालिम केन्द्रमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply