काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ६ लाख ८५ हजार रुपैयाँभन्दा बढी नगदसहित तास र मोबाइल फोन बरामद गरिएको छ ।
प्रहरीका अनुसार २०८३ कात्तिक २२ गते राति करिब २ बजे काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवा तास खेलिरहेको सूचना प्राप्त भएको थियो ।
उक्त सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले रेस्टुरेन्टमा जाँच गर्दा जुवा खेलिरहेको अवस्थामा नौ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट तासका ९ बुक, नगद ६ लाख ८५ हजार १९५ रुपैयाँ र १० थान मोबाइल फोन बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ का ४९ वर्षीय सुनिल श्रेष्ठ, ३७ वर्षीय सहिद महमद, २८ वर्षीय सरोज कार्की र ३४ वर्षीय अनिल भण्डारी रहेका छन् ।
त्यस्तै, बुढानीलकण्ठ नगरपालिका–१२ का ३१ वर्षीय सोनाम शेर्पा, काठमाडौं महानगरपालिका–२ का ३७ वर्षीय गणेशमान श्रेष्ठ, ललितपुर महानगरपालिका–२५ का २२ वर्षीय अनिल लामिछाने, संखुवासभाको सभापोखरी गाउँपालिका–६ का ३५ वर्षीय तारावीर तामाङ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ का २१ वर्षीय महेन्द्र खनाल पनि पक्राउ परेका छन् ।
पक्राउ परेका नौ जनालाई बरामद सामग्रीसहित नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।