काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।
उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर नेपाल संवत् सुरु गरेको ऐतिहासिक प्रसङ्ग स्मरण गरेका छन्। चन्द्रमामा आधारित नेपाल संवत्ले नेपालको मौलिक पहिचान बोकेको उनको भनाइ छ।
म्हः पूजाको महत्त्वबारे उल्लेख गर्दै शाहले ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने बताएका छन्। यस परम्पराले नेवार समुदायमा आपसी सद्भाव, आत्मबल, जातीय एकता र पुर्ख्यौली संस्कृतिको संरक्षणमा योगदान पुर्याउँदै आएको उनले उल्लेख गरेका छन्।
त्यसैगरी, गोवर्धन पूजा तथा हली तिहारको प्रसङ्गमा उनले भगवान् श्रीकृष्णसँग जोडिएको धार्मिक मान्यतासँगै कृषिकर्मका सहयात्री गोरु र कृषि औजारको पूजा गर्ने परम्पराको महत्त्व स्मरण गरेका छन्। यस दिन गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने चलन रहेको उनले बताएका छन्।
भैलो र देउसीका माध्यमबाट छरछिमेकमा आत्मीयता र सद्भाव अभिवृद्धि हुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्नुपर्ने बताएका छन्।
उनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन्।