नागार्जुनमा नेपाल संवत् ११४७ को स्वागत, मदनकृष्ण र यमन श्रेष्ठको प्रस्तुतिले थपियो रौनक

नागार्जुनमा नेपाल संवत् ११४७ को स्वागत, मदनकृष्ण र यमन श्रेष्ठको प्रस्तुतिले थपियो रौनक

काठमाडौं । नेपाल संवत् ११४७ को शुभारम्भ तथा गोवर्द्धन पूजाको अवसरमा काठमाडौंको नागार्जुन नगरपालिका–सीतापाइलास्थित ऐतिहासिक हरिसिद्धि मन्दिर परिसरमा आयोजित ‘न्हू दँया भिन्तुना’ सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

नेवा: देय दबू जामा:घ नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए भने उनका छोरा यमन श्रेष्ठले गीत प्रस्तुत गरेका थिए। दुवैको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रममा ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशीला अधिकारी, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्व र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

कार्यक्रममा नागार्जुन नगरपालिका वडा नम्बर १ का अध्यक्ष रामेश्वर लामा, वडा नम्बर २ का अध्यक्ष थुमराज केसी, वडा नम्बर ३ का अध्यक्ष उमेश लामा, वडा नम्बर ४ का अध्यक्ष लक्ष्मी राम शर्मा, वडा नम्बर ५ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता महेश रिमाल, वडा नम्बर ६ का अध्यक्ष देवेन्द्र गिरी, वडा नम्बर ७ का अध्यक्ष शैलेन्द्र लामा, वडा नम्बर ८ का अध्यक्ष सुरज पोखरेल, वडा नम्बर ९ का अध्यक्ष रामकृष्ण भट्टराई र वडा नम्बर १० का अध्यक्ष सुन्दर केसीको सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गान तथा नेपाल भाषाको राष्ट्रिय गीतबाट गरिएको थियो। त्यसपछि प्रमुख अतिथि तथा अन्य अतिथिहरूबाट दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो। आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष विश्व राम बलामीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमको विशेष आकर्षणका रूपमा साइकल तथा मोटरसाइकल र्‍याली आयोजना गरिएको थियो। हलचोक, गैरीगाउँलगायत नागार्जुन नगरपालिकाका विभिन्न स्थानबाट सहभागीहरू र्‍यालीसहित कार्यक्रममा आएका थिए। नयाँ वर्षको शुभकामना र सांस्कृतिक एकताको सन्देशसहित निकालिएको र्‍यालीले कार्यक्रमको उत्साह थप बढाएको थियो।

त्यसैगरी, माला रञ्जितकारको कोरियोग्राफी तथा नृत्य निर्देशनमा श्री मयूर डान्स एकेडेमीका कलाकारहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए। क्रिशु रञ्जितकार, मालती शाक्य, विपना मोक्तानलगायत कलाकार तथा बालिकाहरूले प्रस्तुत गरेको नृत्यले कार्यक्रमलाई थप रंगीन बनाएको थियो।

कार्यक्रममा विभिन्न गुठी तथा सांस्कृतिक समूहले पनि आ–आफ्ना प्रस्तुति दिएका थिए। तुषाल देवी टोल सुधार समिति सरणपुर, फे ख्वा गुठी डाँडापौवा, सशस्त्र प्रहरी बल हलचोक, टौखेल बलामी हाइटलगायत समूहका प्रस्तुति समावेश थिए। यसका साथै गीत, गजल, सोलो नृत्य, कमेडी तथा नेवारी सांस्कृतिक नृत्यले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए।

कार्यक्रम विश्व राम बलामीको संयोजनमा सञ्चालन भएको थियो। सभाको सभापतित्व नेवा: देय दबू जामा:घ नगर समितिका अध्यक्ष अजित पुतुवारले गरेका थिए। अन्त्यमा अध्यक्ष पुतुवारले शुभकामना मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए।

नेपाल संवत्को नयाँ वर्षलाई स्वागत गर्ने तथा नेवारी मौलिक कला, संस्कृति, भाषा र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। विभिन्न क्षेत्रका व्यक्तित्व, कलाकार, सांस्कृतिक समूह तथा स्थानीय बासिन्दाको सहभागिताले नागार्जुनमा नयाँ वर्षको उत्सवलाई थप विशेष बनाएको थियो।

तस्बिरमा हेर्नुहोस् : नागार्जुनमा नेपाल संवत् ११४७ को स्वागत तथा सांस्कृतिक कार्यक्रम

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply