रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ।

सोमबार दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याब जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। जीप आठबिसकोट नगरपालिका–४ निवासी २५ वर्षीय प्रदीप विकले चलाएका थिए।

दुर्घटनामा आठबिसकोट नगरपालिका–५ निवासी १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा १३ जना घाइते भएका छन्। गम्भीर घाइते हुनेमा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया विरता थापा रहेका छन्।

त्यस्तै, मध्यम अवस्थाका घाइतेमा २५ वर्षीया हिरा थापा र २ वर्षीय गौरव थापा छन्। सामान्य घाइते हुनेमा २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी रहेका छन्।

घाइतेमध्ये सामान्य र मध्यम अवस्थाका छ जनालाई दिउँसो १ः२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ। अन्य घाइतेलाई पनि उपचारका लागि अस्पताल पुर्‍याउने पहल भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा चार जना र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईंको कमाण्डमा सात जनाको टोली घटनास्थलमा खटिएको छ।

जीप चालक प्रदीप विक दुर्घटनापछि फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको छ। दुर्घटनाग्रस्त जीप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply