काठमाडौं । टर्किएको अन्ताल्यामा जारी कोप–३१ सम्मेलनअन्तर्गत बाकु एडाप्टेसन रोडम्याप (Baku Adaptation Roadmap) कार्यान्वयनको अवस्थाबारे आयोजित छलफलमा कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपालले जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा गरेका प्रयास र उपलब्धिबारे जानकारी गराएका छन्।
छलफलका क्रममा डा. उप्रेतीले नेपालले राष्ट्रिय अनुकूलन कार्यक्रम (NAPA) तयार गरी कार्यान्वयन गरेको तथा राष्ट्रिय अनुकूलन योजना (NAP) कार्यान्वयनको चरणमा रहेको बताए। त्यस्तै, स्थानीय अनुकूलन कार्ययोजना (LAPA) कार्यान्वयनका क्रममा प्राप्त सिकाइका आधारमा यसको रूपरेखा तयार गरी स्थानीय तहमा लागू गर्दै गएको जानकारी दिए।
NAPA र LAPA कार्यान्वयनका क्रममा जलवायु अनुकूलनलाई योजना निर्माण तथा वित्तीय नीतिमा समेट्दै लगिएको उल्लेख गर्दै उनले जलवायु क्षेत्रमा लगानी बढाउने र समुदायको तहसम्म अनुकूलनका कार्यक्रम विस्तार गर्ने प्रयासबारे चर्चा गरे।
डा. उप्रेतीले जलवायु अनुकूलनको स्थानीयकरणलाई महत्वपूर्ण विषयका रूपमा व्याख्या गर्दै नेपालले यस क्षेत्रमा काम गरिरहेको बताए। उनका अनुसार नेपालको नीतिमा जलवायु अनुकूलनसम्बन्धी ८० प्रतिशत बजेट स्थानीय तहमा पुर्याउने लक्ष्य राखिएको छ र उक्त नीति कार्यान्वयनतर्फ अघि बढिरहेको छ।
उनले अनुकूलनका योजना निर्माणसँगै त्यसका लागि आवश्यक वित्तीय स्रोत र लगानी सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।
जलवायुजन्य विषम घटनाहरू बढ्दै गएको अवस्थामा अनुकूलनका लागि उपलब्ध वित्त पर्याप्त नभएको, अनुकूलनका सीमा पार हुँदै गएको र क्षति तथा नोक्सानी बढिरहेको सन्दर्भमा नेपालजस्ता जोखिममा रहेका देशलाई अनुकूलनसम्बन्धी नयाँ प्रविधिको आवश्यकता रहेकोमा उनले जोड दिए।
बाकु एडाप्टेसन रोडम्यापले जलवायु परिवर्तन अनुकूलनसम्बन्धी विश्वव्यापी लक्ष्य (Global Goal on Adaptation) का प्राथमिकता निर्धारण गर्न मार्गनिर्देशन गर्ने उद्देश्य राखेको छ।