LDC स्तरोन्नतिका मापदण्डमा जलवायु उत्थानशीलता र विपद् जोखिम समेट्न डा. उप्रेतीको सुझाव

LDC स्तरोन्नतिका मापदण्डमा जलवायु उत्थानशीलता र विपद् जोखिम समेट्न डा. उप्रेतीको सुझाव

काठमाडौं । अतिकम विकसित राष्ट्र (LDC) बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणलाई पनि मापदण्डमा समावेश गर्नुपर्ने सुझाव विज्ञ डा. धर्मराज उप्रेतीले दिएका छन्।

टर्कीको अन्ताल्यामा जारी कोप–३१ सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनमा विज्ञका रूपमा सहभागी हुँदै कार्यकारी प्रमुख डा. उप्रेतीले विकासशील राष्ट्रमा स्तरोन्नति केवल आर्थिक सूचकमा सीमित हुन नहुने बताएका हुन्।

उनले वातावरणीय सभ्यता, वातावरणीय दिगोपना, वन तथा वन सम्पदाको संरक्षण र जलवायु उत्थानशीलतालाई समेत प्राथमिकतामा राखेर स्तरोन्नतिको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।

जलवायु परिवर्तन र विपद्बाट हुने क्षतिको मूल्याङ्कन नगर्ने तथा त्यसका लागि सहायक मापदण्ड नबनाउने हो भने विनाशकारी विपद्का कारण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ठूलो हिस्सा गुम्ने र विकासका लक्ष्यहरू प्रभावित हुने जोखिम रहेको उनको भनाइ छ।

चेञ्ज इनिसियटिभ र मलेया फाउन्डेसनले नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि हाल निर्धारित मापदण्ड पर्याप्त छन् कि छैनन् भन्ने विषयमा प्रश्न उठाउँदै पत्रकार सम्मेलन आयोजना गरेका हुन्। बढ्दो जलवायु परिवर्तन र त्यसबाट उत्पन्न हुने विनाशकारी विपद्लाई स्तरोन्नतिको मूल्याङ्कनमा समेट्नुपर्ने विषयमा समेत कार्यक्रममा जोड दिइएको थियो।

हाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि तीनवटा प्रमुख मापदण्ड निर्धारण गरिएका छन्। जसअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय वार्षिक १ हजार ३०६ अमेरिकी डलरभन्दा बढी, मानव सम्पत्ति सूचकाङ्क (ह्युमन एसेट्स इन्डेक्स) ६६ वा सोभन्दा माथि र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क ३२ भन्दा कम हुनुपर्ने व्यवस्था छ।

नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने समय तेस्रो पटक तीन वर्षका लागि थप गरिएको छ। सन् २०२६ अक्टोबर ३० मा भएको निर्णयअनुसार नेपाल सन् २०२९ मा विकासशील राष्ट्रमा स्तरोन्नति हुनेछ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply